ल्होमी (शिङसावा)

ल्होमी (शिङसावा)

प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये ल्होमी एक अति अल्पसङ्ख्यक हिमाली जाति हो । तिब्बती भाषामा “ल्हो” भनेको दक्षिण दिशा (तिब्बत) र “मी” भनेको मानिस हो । तसर्थ, ल्होमी जातिको उद्भव तिब्बत हो, जहाँबाट सदियौं पहिले उनीहरू नेपाल पसेका थिए । नेपालमा उनीहरूको थातथलो पूर्वी नेपालको संखुवासभा जिल्लाको उत्तरी भेगमा रहेको हिमाली भू-भागका विकट गाउँहरू (जस्तै, चेपुवा र हटिया) हुन् । शिङसावा वा कारभोटे भनेर पनि चिनिने ल्होमी जातिको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ३५५ मात्र छ । २०६८ को जनगणनामा यो जातिको सङ्ख्या १,६१४ उल्लेख गरिएको छ । एक दशकभित्र यस जातिको जनसङ्ख्यामा यति धेरै अन्तर हुनाको एउटा सम्भावित कारण के हुन सक्छ भने ल्होमीहरूले सरकारी कागजमा आफूलाई भोटे भनेर लेख्ने गरेका छन् । २०७८ को जनगणना अनुसार ल्होमी भाषीको सङ्ख्या ४१३ छ । ल्होमी अरू धेरै हिमाली जातिभन्दा यस कारण फरक छ कि उनीहरू आफ्नो थातथलोबाट दिनदिनै पलायन हुँदैछन् । २०७८ को जनगणना अनुसार यो जातिको कुल जनसङ्ख्यामध्ये ४२ प्रतिशत मात्र संखुवासभामा रहेको छ । त्योभन्दा बढी ४९.४ प्रतिशतको गणना काठमाण्डुबासीको रूपमा भइसकेको छ ।


मङ्गोल नस्ल र तिब्बती मूलका ल्होमी जातिको भाषा (ल्होकेत भाषा) तिब्बती-बर्मेली परिवारको हो । उनीहरूले सम्भोटा लिपि प्रयोग गर्ने गरेका छन् । यो जातिको धर्म बोन र बौद्ध दुवै हुन् । यिनीहरूका पुरोहित लामा हुन्, र मृत्यु संस्कार बौद्ध धर्म अनुसार गर्छन् । साथै अन्य पूजाआजा बोन धर्मगुरु बिजुवा अर्थात् लोबेनबाट गरिन्छ । । यिनीहरूको संस्कृति र संस्कारमा प्रकृतिपूजन, बोनपन र बौद्धपन मिसिएको हुन्छ ।


ल्होमीका परम्परागत प्रमुख पेशा कृषि, पशुपालन र सीमापार व्यापार हुन् । रैथानेहरूले यसलाई निरन्तरता दिइरहेका छन्, तर बसाइ सरेर गएकाहरू—जो यो जातिको कुल सङ्ख्यामा आधाभन्दा बढी छन्—जीवन निर्वाहको साथै आय आर्जनको लागि अन्य पेशामा पनि लागेका छन् ।


ल्होमीको आफ्नै प्रथाजनित रीतिथिति (गोवा प्रथा) छ । त्यसको पालन गराउने जिम्मा स्थानीय गाउँको मुखियाको हो, जसलाई ल्होमी भाषामा गोबा र गेम्बु भनिन्छ । बहुपति प्रथा अपनाएका अरू हिमाली जातिभन्दा ल्होमीको ठिक उल्टो चलन छ : लोग्नेले बहुविवाह गरेमा मूल घर छोड्नु पर्छ (उक्याव र अधिकारी २०५७: ३१) । अरू केही जनजातिले जस्तै उँधौली र उँभौली चाड मान्छन् ।