मगर

मगर

नेपालका आदिवासी जनजातिमध्ये मगर सबभन्दा बढी जनसङ्ख्या भएको जाति हो । यो आफैमा विविधता भएको एक विशाल समूह हो । नेपालको एकीकरणपछि पूर्वतर्फ सरेका मगरहरूलाई छोडेर स्थान-विशेष थातथलो र सो अनुरूपको भाषिक भिन्नतालाई आधार मानेर हेर्दा पनि यो जातिका तीन उप-समूह रहेको स्पष्ट छ स् एक, कालीगण्डकी वारिका बाह्र मगरातीस दुई, कालीगण्डकी पारिका अठार मगराती, अर्थात् खाम मगरस र तीन, हिमाली जिल्ला डोल्पामा बसोबासरत काइके मगर । तसर्थ यो बृहत्तर मगरको उत्पति र पुर्खाबारे भिन्नाभिन्नै मत हुनु स्वाभाविक हो ।


एक कथ्य इतिहास अनुसार मगरहरूको उद्भव हिमालपारि तिब्बत र चीनबाट भएको हो । एक लेखकले यो सत्यको नजिक हुन सक्ने प्रमाण के दिएका छन् भन्ने आँख्ला (कुलपूजा) गर्दा पितृलाई हिमाल तिरबाट बोलाउने गरिन्छ (श्रीस मगर २०६७: ४) । जनकलाल शर्माले मगरका पुर्खा हुण जात भनेका छन्, र साथै यो जातिको तत्कालीन पुर्खा ठकुरी हुन सक्ने अनुमान पनि छ (२०३९: २४३) । केही विद्वान्‌हरूले यो जातिलाई नेपालबाट पूर्वमा पर्ने सिक्किमबाट सिम्रौनगढ हुँदै पश्चिम पहाडमा आइपुगेको मानेका छन् (गौतम र थापा-मगर सन् १९९४: २३) । यसको ठिक उल्टो अर्को भनाइ के छ भने मगरहरूको एक समूह पन्जाब, नैनिताल र गढवाल हुँदै पश्चिम नेपालबाट प्रवेश गरेको हो । यी सबै भनाइलाई खण्डन गर्दै नेपाल मगर संघले आफ्नो जातिको उत्पति वर्तमान नेपालको सहोदरभित्रै भएको दावी गरेको छ । एक विज्ञले मगरको उत्पति नेपालकै माटोबाट भएको ठोकुवा गर्दै रुकुम जिल्लाको मैकोटस्थित एक ओडारतिर इङ्गित गरेका छन् (श्रीस मगर २०६७: ४) ।


मगरको उत्पतिमा विचार, अनुमान र दृष्टिकोण फरक(फरक भए पनि नेपालमा यो जातिको थातथलोबारे एकमत छ । त्यो ठाउँ हो राप्ती र गण्डकी प्रस्रवण क्षेत्रको पहाडी भू-भाग (श्रीस मगर २०६७: ४) । यसभित्र पर्ने जिल्लाहरू हुन् स् बाह्र मगरातको पाल्पा, तनहुँ, गुल्मी, अर्घाखाँची, म्याग्दी, प्यूठान, बागलुङ, र पर्वतस र अठार मगरातको रोल्पा र रुकुम । थातथलो किटान भए पनि मगरको राजनीतिक भूगोल कोर्न कठिन छ, किनभने यो धेरै छरिएको जाति हो । २०७८ को जनगणनामा उल्लिखित २०,१३,४९८ मगरहरूको प्रदेशगत बसोबास यस्तो छ स् ३७ प्रतिशत लुम्बिनीमा, २३ प्रतिशत गण्डकीमा, १६ प्रतिशत बाग्मतीमा, १० प्रतिशत कोशीमा, ९ प्रतिशत कर्णालीमा, ३ प्रतिशत मधेसमा, र अर्को ३ प्रतिशत सुदूर-पश्चिममा ।


मगर भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । २०७८ को जनगणना अनुसार कुल मगर जनसङ्ख्याको आधाभन्दा कम (मगर ढुट, मगर खाम, र मगर काइके गरी ४४.७%) ले मात्र आफ्नो मातृभाषा बोल्छन् । यो आफैमा एउटा उदाहरण हो कि यो जाति खसकरणको चपेटामा परेको छ । धार्मिक खसकरण योभन्दा चर्को छ । प्राचीनकालदेखि नै कतिपय राजकीय देवस्थलहरूमा मगर पुजारी हुने परम्परा रहेको छ । २०७८ को जनगणना अनुसार ७८.८ प्रतिशत मगर हिन्दु हुन् । दशैँ, तिहार, तीज लगायत सबैजसो हिन्दु चाडपर्वहरू मगरले मनाउँछन् । तर यसको विनिर्माण गर्ने प्रयास मगर अभियन्ताहरूले गर्दै आएका छन् । २०५५ सालमा झापामा भएको मगर सम्मेलनमा यो जाति बौद्ध धर्मावलम्बी हो भनेर अभियान चलाउने विषयमा छलफल भएको थियो । २०७८ सालमा भएको जनगणनाको सङ्घारमा मगरलाई बौद्ध वा प्रकृति धर्ममा लिपिबद्ध गर्न मगर संघले अपिल जारी गरेको थियो । खाँटी हिन्दु धर्मावलम्बी खस आर्यभन्दा मगरले आफूलाई भिन्न देखाउँछन् । अछेता र दही मिसाएर सेतो टीका लाउँछन् । सबभन्दा महत्त्वपूर्ण कुरा, परम्परागत मौलिक धर्म र संस्कृतिलाई पनि निरन्तरता दिइरहेका छन् । मगरको प्राचीन धर्म प्रकृति धर्म हो र झाँक्रीपन्थ संस्कारगत चलन हो । उनीहरूको आफ्नै जातिको पुरोहित छ, जसलाई बाह्र मगरातमा लामा भनिन्छ भन्ने अठार मगरातमा रमा । यो जातिको जीवन-चक्रीय संस्कार एवं पूजाआजा मूल रूपमा पितृ र प्रकृति पूजामा आधारित रहेको छ । उनीहरूले तीन शक्ति—पितृशक्ति, प्रकृतिशक्ति र राजशक्ति—को पूजाआजा वर्षे बाली र हिउँदे बाली लगाउने र स्याहार्ने बेला उँभौली र उँधौलीमा गर्छन् । भूमे पूजा मगरको मौलिक परम्परा हो, जुन खस आर्यमा हुँदैन । यी सबैलाई संयोजन गरेर मगराती धर्म सिर्जना गर्ने प्रस्ताव एक लेखकबाट आएको छ (श्रीस मगर २०६७: ३७) ।


मगरको मुख्य पेशा कृषि र पशुपालन हो, तर यो जीवन निर्वाहसँग मात्र जोडिएको छ । आय आर्जनको लागि कुनै समय खानी उत्खनन आकर्षक पेशा थियो, तर यो अहिले इतिहासमै सीमित भएको छ । मगरको प्राथमिकता विदेशी सेनामा भर्ना हुनु हो, किनभने त्यहाँबाट मनग्य आम्दानी हुन्छ । यसको विकल्पमा नेपाली सेना र प्रहरीको साथै अन्य सरकारी र गैर-सरकारी क्षेत्रमा पाइने स्थिर जागिर पर्छ, जहाँबाट नियमित रूपमा तलब र पेन्सन पाइन्छ । अहिले मगरहरू पशुपालन, कृषि, हस्तकला, सुरक्षा, प्रशासन, शिक्षा लगायत वैदेशिक रोजगारी जस्ता पेशामा संलग्न रहेको पाइन्छ ।


मगरको प्रथाजनित शासनको ऐतिहासिक पृष्ठभूमि छ । नेपाल एकीकरणअघि बाह्र मगरात र अठार मगरातमा मगर थुम राज्यहरू थिए । ती राज्यको संरचना तीन तहमा बनेको हुन्थ्यो : स्थानीय तह, इलाका तह, र केन्द्रीय तह । हरेक तहले प्रशासनिक, आर्थिक र राजनीतिक अधिकार प्रयोग गरेको हुन्थ्यो । तल्लो तहले निरूपण गर्न नसकेका विषयहरू क्रमशः माथि सर्दै जाने र माथिल्लो तहले अन्तिम निर्णय गर्थ्यो । यसको अवशेष अहिले यो जातिको परम्परागत संस्था (भेजा र रोदी) मा देखिन्छ । हरेक वर्ष समुदायको अगुवाको भूमिका खेल्ने मुखियाको छनौट हुन्छ । मुखियाले स-साना झैझगडाको छिनोफानो गर्छन्; भेजाले समुदायको पुरोहित लामाको परामर्शमा रीतिथिति बनाउँछ र त्यसको पालना गर्न लगाउँछ । साथसाथै समुदायको सामूहिक हित हुने गरी गरिने स-साना निर्माण कार्यको लागि जनश्रमदान जुटाउँछ ।