माझी

माझी

कुमाल र बोटे जस्तै माझी पनि पेशाबाटै नामकरण भएको नेपालको एक अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको पुर्खाबारे लिखित इतिहास छैन, किंवदन्तीहरू मात्र छन् । त्यस अनुसार माझी मत्स्यगन्धाका सन्तान हुन् वा त्रेता युग कालीन राम-सीताका छोरा कुशका सन्तान हुन् । अर्को भनाइ अनुसार माझी भारतबाट मिथिलाको बाटो हुँदै मध्य पहाड उक्लेको जाति हो (राई र माझी सन् २०१४: ३-५) । नेपालमा यो जातिको पुर्ख्यौली थलोबारे एकमत छैन । गोपाल वंशावलीका अनुसार यो रामेछाप जिल्लाको रजगाउँ हो । कसैले रामेछापको तामाकोशी र सिन्धुलीको मरिनखोला आसपास भनेर लेखेका छन् । धेरैले सप्तकोशी र यसका सहायक नदी किनार मानेका छन् । खास थातथलो कुन चाहिँ हो भन्न कठिन हुनाका प्रमुख कारण माझीहरू छरिएर बसेका छन् । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या १,११,३५२ रहेको छ । तीमध्ये एक तिहाइ जति मध्य पहाडी जिल्लाहरूमा बसेका छन् भने २८ प्रतिशत मध्य तराईका जिल्लाहरूमा, १९ प्रतिशत पूर्वी तराईमा, र बाँकी यत्रतत्र छरिएका छन् ।


२०७८ को जनगणना अनुसार माझी भाषा बोल्नेको सङ्ख्या ३२,९१७ छ, जुन यो जातिको कुल जनसङ्ख्याको २९.६ प्रतिशत मात्र हो । अर्थात्, माझीहरू भाषिक खसकरणबाट धेरै प्रभावित छन् । धार्मिक खसकरण त त्योभन्दा चर्को छ । २०४८ को जनगणना अनुसार ९८ प्रतिशत माझीहरू हिन्दु धर्मावलम्बी हुन् ।


माझीको शारीरिक बनोट र यिनको भित्री-तराईका अरू जातिहरू (जस्तै, कुमाल, दनुवार, दराई, बोटे र थारू) सँगको सांस्कृतिक सामीप्यताबाट निचोड निकाल्न सकिन्छ कि माझी पनि मङ्गोल मूलका हुन् । तर यो जातिको मातृभाषा भारोपेली परिवारभित्र पर्छ (राई र माझी सन् २०१४: १), र लिपि छैन । माझीको परम्परागत धर्म प्रकृतिपूजन होस त्यसैले यिनीहरू जमिन, जङ्गल र नदीको पूजा गर्छन् । यो जातिको सांस्कृतिक जीवनमा झाँक्रीपन्थ हावी छ, यद्यपि हिन्दुकरणको मात्रा अधिक छ । नेपाल माझी उत्थान समाजले २०५३ सालमा आफ्नो जातिको धर्म तान्त्रिक धर्म भनेर घोषणा गरेको छ ।


माझी बस्ती खोला किनारमा हुन्छ । यसले उनीहरूको मुख्य पेशा के हो भन्ने जनाउ दिन्छ । नाउ चलाउने, माछा मार्ने, र नदीको बालुवामा सुन खोज्ने यो जातिका परम्परागत पेशा हुन् । तर यसबाट मात्र जीवन निर्वाह हुँदैन । धेरै पहिलेदेखि नै खेतीमा लागेका हुन् ।


माझीको आफ्नै प्रथाजनित रीतिथिति छ । मझेको नेतृत्वमा पाँच-सदस्यीय मझेसेवाको व्यवस्था छ । यसले सामाजिक व्यवस्था मिलाउने, धार्मिक-सांस्कृतिक परम्परा संचालन गर्ने, रैती बसाउने, झैझगडा मिलाउने, न्याय-निसाफ गर्ने, अपराधीलाई दण्ड दिने आदि काम गर्छ ।