मार्फाली

मार्फाली

तीन गाउँले जस्तै मार्फाली पनि जनगणनामा उल्लेख नभएको जाति हो । तर प्रतिष्ठान ऐनले यो समुदायलाई एक छुट्टै आदिवासी जनजाति हो भनेर पहिचान दिएको छ । राई र हिराचनका अनुसार मार्फालीको जनसङ्ख्या करिब २,५०० छ (२०६७: ३) । मार्फालीको थातथलो मुस्ताङ जिल्लाको मार्फा गाउँ हो ।


मार्फालीहरूको प्राचीन धर्म झाँक्रीपन्थ हो, र अहिले उनीहरू बौद्ध धर्मावलम्बी हुन् । उनीहरूको धार्मिक र सांस्कृतिक जनजीवन गुम्बा र त्यसको पुजारी (लामा) बाट निर्देशित छ । माहिलो छोरो लामा हुने र माहिली छोरी झुमा हुने परम्परा कायम नै छ ।


मार्फालीको परम्परागत पेशा कृषि र पशुपालन हो । हाल कृषिको व्यवसायीकरण भएको छ, र त्यसमा पनि खास गरेर स्याउ खेतीबाट मनग्गे आम्दानी हुने गरेको छ । हाल अधिकांश मार्फालीहरू होटल व्यवसायमा लागेका छन् ।


मार्फालीको आफ्नो प्रथाजनित स्वायत्त शासन प्रणाली छ । चार वटा छो (अर्थात् थर)—ज्वारचन, पन्नाचन, हिराचन र लालचन—को प्रतिनिधित्व हुने गरी हरेक वर्ष ४ मुखिया, १० कटुवाल र १ सचिव निर्वाचित हुन्छन् । यो १५-सदस्यीय परिषदको कार्यक्षेत्र व्यापक छ : जस्तै, गाउँ भेला गर्ने, गाउँलेलाई सूचना दिने, खेतीपाती संचालन गर्ने विषयमा निर्देशन दिने, प्राकृतिक स्रोतको उपयोग र उपभोग गर्नेबारे विधि-विधान बनाउने, न्याय-निसाफ गर्ने, जरिवाना असुल्ने, विकास निर्माणमा सघाउने ।