वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत मेचे नेपालको एक अल्पसङ्ख्यक तराई आदिवासी जनजाति हो । यिनीहरूको थातथलो मेची नदीको किनार हो । २०७८ को जनगणना अनुसार मेचेको जनसङ्ख्या ५,१९३ छ, र तीमध्ये ९५ प्रतिशतको बसोबास झापा जिल्लामा छ । यो जातिको उत्पतिबारे फरक-फरक भनाइ छन् । कसैले यसलाई एक प्राचीन किराती राजाको वंश मानेका छ (चेम्जोङ सन् २००३/१९६७) । कसैले यो जाति नेपालमा उन्नाइसौं शताब्दीको मध्य भागतिर मात्र देखा परेको भनेका छन् (खनाल सन् २०१५: १७५) । के कुरामा विमति छैन भने नेपालको पूर्वी सिमानासँग जोडेको भारतको पश्चिम बङ्गाल र असममा रहेका बोडोसँग भाषिक र सांस्कृतिक सामीप्यता भएका नेपालका मेचे केही अगाडिसम्म जङ्गलमा फिरन्ते भएर हिँडडुल गर्ने जाति हो ।
मेचे मङ्गोल मूलको र सम्भवतः किराती वंशको र आफ्नै भाषा भएको जाति हो, जसलाई बोडो भाषा पनि भन्ने गरिएको छ । यद्यपि जनगणनाले जातिवाचक भाषिक नाम दिएको छ—मेचे भाषा । यो भाषाको लिपि छैन । नेपालमा यो भाषा बोल्नेको सङ्ख्या ४,२०३ छ; अर्थात्, यो भाषा ८२.४ मेचेको मातृभाषा हो । मेचे भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । मेचे जातिको प्राचीन धर्म बाथौं हो, तर यो जनगणनाको धर्म महलमा समावेश छैन । बाथौंले यो जातिको आध्यात्मिक जीवनसँग जोडिएका पाँच शुभ संकेत बोध गर्छ : सिउँडीको काँडे धार पाँच, बाँसुरीको प्वाल पाँच, बाथौंको वन्दना पाँच, आचारविचार पाँच, मेचेको कुरा पाँच । यिनीहरू परम्परादेखि नै प्रकृतिपूजक हुन् । नदी, वन, बोटबिरुवा र ढुङ्गालाई पूजा गर्छन् । आफ्नै पुरोहित छ, जसलाई रोजा भनेर भनिन्छ र जसको सहयोगीको रूपमा फान्थोल हुन्छ । तर मेचे हिन्दुकरणबाट प्रभावित छ । हालै गरिएको एक स्थलगत अध्ययन अनुसार यो जातिमा हिन्दुको गोत्र प्रणाली पसिसकेको छ (गुरुङ र गुरुङ २०८२) ।
मेचेको मुख्य पेशा कृषि र पशुपालन हो, र त्यसमा पनि खास गरेर बङ्गुर पालन हो । तर केही काल अघिसम्म जङ्गलका फिरन्ते रहेका मेचे जातिका अधिकांश परिवारसँग आफ्नो नामको जग्गाजमिन छैन । त्यसैले यिनीहरू कृषि श्रमिक हुन् र अधिया-बटैयामा खेती गर्छन् । साथसाथै आय आर्जनको लागि स-साना व्यापार र मजदुरी पनि गर्छन् ।
मेचेको आफ्नै प्रथाजनित संस्था छ, र त्यसको नेतृत्व गर्नेलाई माखाल भनिन्छ । उनी सामाजिक अगुवा हुन्, र आफ्नो समुदायलाई परम्परादेखि चलिआएको रीतिथिति अनुरूप धार्मिक र सांस्कृतिक कार्यक्रम संचालन गर्छन् र गराउँछन् । उनले न्यायाधीशको भूमिका पनि निभाउँछन्, गाउँठाउँका स-साना झगडा मिलाउँछन्, न्याय-निसाफ गर्छन्, र अपराधीलाई दण्ड पनि दिन्छन् ।