नेवार

नेवार

प्रतिष्ठान ऐनमा सूचीकृत नेवार एक उन्नत आदिवासी जनजाति हो । सम्भवतः नेपालका सबै जातिहरूमध्ये सबभन्दा बढी अध्ययन-अनुसन्धान र प्रकाशन नेवार जातिबारे भएका छन् । तर यो जातिको उत्पतिबारे एउटै निर्क्योल आएको छैन । एक थरीले उत्तरबाट आएका मञ्जुश्रीसँग जोडिएको जनश्रुति—दहको रूपमा रहेको काठमाण्डु उपत्यकाको पानीको निकास निकालेर बस्ती बनाएको—लाई आधार मानेर यो जातिको उत्पति तिब्बतबाट भएको मानेका छन् । यसको ठिक विपरीत, अर्को थरीले नेवारको वंश दक्षिण भारतको नायर प्रदेश र कर्नाट वंशीय राजा नान्यदेवसँग जोडेका छन् । तेस्रो थरीले ने मुनिले तपस्या गरेको ठाउँसँग मिलाएर हेर्ने गरेका छन् । तर नेवारको जातीय पहिचान र यसको आदि भूमिबारे एकमत छ ।


प्राग्-ऐतिहासिककालदेखि नेवारको थातथलो काठमाण्डु उपत्यका हो, जुन उत्तरको तिब्बत र दक्षिणको भारत बीचको संगमस्थल हो र जहाँबाट विभिन्न जात र जातिका मानिसहरू व्यापार, धर्म, ज्ञान, राजनीति र अन्य उद्देश्यका लागि आवतजावत गर्थे । यही क्रममा सबै थरी जात र जाति र फरक-फरक धर्मावलम्बीहरू यहाँकै मूलवासीमा अन्तरघुलन भए । तसर्थ, नेवार यी सबै समूह—मङ्गोल, आर्य र किराती (मल्ल र अरू २०८०: २) र हिन्दु र बौद्ध—को सम्मिश्रण भएको विशेष जाति हो (विष्ट सन् २००२: ५३; शर्मा २०३९: २९७; गौतम र थापा-मगर सन् १९९४: ११५; तुलाधर र अरू २०६७: १३) । यस जातिभित्र नस्लगत र धार्मिक भिन्नता छ, तर सबैलाई मातृभाषा (नेपालभाषा) ले एउटै सूत्रमा बाँधेको छ ।


नेवारको थातथलो नेवारी भाषामा स्वनिगः हो, जसलाई नेपाःगाः पनि भनिन्छ । पछिल्लो शब्दले ओगट्ने भूमि व्यापक छ, र यसमा काठमाण्डु, भक्तपुर र ललितपुर जिल्लाहरू मात्र होइन, तीसँग यो जातिको बसोबासको भौगोलिक निरन्तरता रहेका पूर्वमा काभ्रेपलान्चोक जिल्लामा पर्ने बनेपा, धुलिखेल र पनौती शहर; दक्षिण पश्चिममा अवस्थित चित्लाङ, भीमफेदी लगायत नारायणघाट र हेटौँडा शहर; र उत्तर-पश्चिममा त्रिशूली बजारसम्म फैलिएको छ । यी ठाउँहरू तामाङ बस्तीले घेरिएका छन्, र कहीँ-कहीँ नेवारको जातिगत भौगोलिक निरन्तरता पनि विच्छेद भएको छ । जनगणनाको लागि प्रयोग हुने प्रशासनिक भूगोल नेपाःगाःभन्दा भिन्नै छ । तथापि, २०७८ को जनगणना अनुसार १३,४१,३६३ नेवारहरूमध्ये आधाभन्दा बढीको बसोबास अहिले पनि काठमाण्डु उपत्यकाको भक्तपुर, ललितपुर र काठमाण्डु जिल्लाहरूमा नै छ । लगभग आधा जति थातथलोभन्दा बाहिर छन् । तीन वटा कारणले नेवारले थातथलो छोडेका छन् : एक, १८२५ मा गोर्खाली सेनासँग पराजित भएर; दुई, त्यस लगतै बिफर फैलिएको बेला पृथ्वीनारायण शाहका नाति राजा रणबहादुर शाहले उपत्यकाबाट धपाएर; र तेस्रो, व्यापार व्यवसायको अवसरको खोजी गरेर । एउटा उखान नै छ : जहाँ नेवार, त्यहाँ शहर-बजार ।


नेपालका सबै जनजाति आदिवासी भए पनि नेवार अरू जातिभन्दा केही कुरामा फरक छ । हुन त पहिले (गोपाल, महिषपाल र किरातकालमा) नेवार समाज जात व्यवस्था नभएको समानतामा आधारित थियो । तर मध्यकालीन समयमा जयस्थिति मल्लले पेशागत रूपमा नेवारलाई ६४ जातमा विभाजन गरेदेखि यो जातिको समाज तहगत बन्यो । यसलाई पुरानो मुलुकी ऐनले वर्णाश्रम अनुरूप ढाल्यो । धार्मिक खसकरणबाट धेरै प्रभावित जातिहरूमध्ये नेवार पनि एक हो । प्रारम्भमा प्रकृतिपूजक रहेका भए पनि २०७८ को जनगणना अनुसार ८९.१ प्रतिशत नेवार हिन्दु छन् । अहिले पहिचानप्रति नवजागरण यो जातिमा पनि स्पष्ट रूपमा देखापरेको छ । मातृभाषा (नेपालभाषा) बोल्नेको सङ्ख्या पछिल्लो जनगणना अनुसार ८,६३,३८० छस अर्थात्, ६४.४ प्रतिशत नेवारले आफ्नो पहिचान आफ्नै मातृभाषासँग जोडेका छन् । यो भाषाको आफ्नै लिपि (रञ्जना र प्रचलित), व्याकरण, शब्दकोष र साहित्य छ । हालै देवनागरी लिपिमा नेपालभाषामा लेखिएको ज्ञानकोश पनि प्रकाशन भएको छ ।


नेवार एक मिश्रित समाज हो; कसैको नस्ल मङ्गोल हो भने अरूको आर्य । धर्ममा पनि यो मिश्रित समूह हो—कोही हिन्दु छन् भने कोही बौद्ध धर्मावलम्बी । हिन्दु भए पनि बुद्धको पूजा गर्छन्; त्यस्तै, बौद्ध धर्मावलम्बी भए पनि हिन्दु मन्दिरमा जान्छन् । धार्मिक सहिष्णुता मात्र होइन, एकाकार पनि छ ।


अधिकांश नेवारको पेशा एकभन्दा बढी हुन्छ । यिनीहरूले कृषि र व्यापार दुवै सँगसँगै लगेका हुन्छन् । सरकारी र गैर-सरकारी, शिक्षण र निजामती सेवा, राष्ट्रिय र अन्तर्राष्ट्रिय सेवा, उद्योग र पेशागत व्यवसाय आदि हरेक क्षेत्रको रोजगारीमा नेवारहरू देखिन्छन् । तर अहिले पनि प्रहरी र सेनाको जागिर नेवार जातिको प्राथमिकतामा पर्दैन ।


नेवारका प्रथाजनित संस्था धेरै छन् : जस्तै, भजन, दाफा, गुठी आदि । खास गरेर गुठीको भूमिका समुदायगत धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालनमा महत्त्वपूर्ण हुन्छ । यो नेवार जातिको संस्कृतिको मेरुदण्ड हो । हरेक महिनामा कम्तीमा एउटा जात्रा वा चाडपर्व मनाउँछन्, जसमा पूजा, भजन, नृत्य र भोज समाहित हुन्छन् ।