वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत फ्री नेपालको एक अति अल्पसङ्ख्यक जनजाति हो । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या ९२१ मात्र छ, र यिनको जातिवाचक भाषा जनगणनामा छैन । यो जातिबारे खास छुट्टै अध्ययन-अनुसन्धान भएको छैन । सम्भवतः यो जातिको कथा-व्यथा पहरी जातिमा मिसाएको हुनु पर्छ, किनभने एक प्रकाशित हाते पुस्तिकामा यी दुवै जाति एउटै हो भनेर लेखिएको छ (उक्याव र अधिकारी २०५७: २०) ।
एक मिथक अनुसार फ्रीका पुर्खा मध्यकालमा भक्तपुरका राजाको भान्सामा काम गर्ने मानिस थिए । तर उनी सो कामबाट निकालिएपछि तामाङसँग बिहेवारीबाट जुन बच्चा पैदा भयो त्यसका सन्तान फ्री कहलिए । यो मिथक पहरीकोसँग भिन्न सन्दर्भमा मिल्न आउँछ, किनभने पहरीका पुर्खा पनि नेवारबाट जात(च्युत भएका व्यक्ति र तिनको तामाङसँग विवाहपछि जन्मेका सन्तान भन्ने गरिएको छ (गौतम र थापा-मगर सन् १९९४: १४१) । पहरीको जस्तै फ्रीको बासस्थान पनि ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुरको खास-खास ठाउँमा छरिएका छन् । जस्तै, ललितपुरको बडिखेल, सिखर्पा, लेले, गोदावरी गाउँहरू र मकवानपुरको बेतिनी र कुलेखानी (पाण्डेय २०६०: ६४) । यो जातिको बसोबास स्थानबारे माथि उल्लिखित पुस्तकहरूमा लेखिएभन्दा भिन्दै ठाउँ देखाएको छ २०७८ को जनगणनाले । यस अनुसार ८३ प्रतिशत फ्रीहरू तेह्रथुममा बसोबासरत छन् र बाँकी ९ प्रतिशत मोरङ र ४ प्रतिशत रामेछापमा ।
फ्रीको भाषा र संस्कृति नेवार र पहरीसँग मिल्छ (उक्याव र अधिकारी २०५७: २०) । तसर्थ, यो जाति पनि नेवार र पहरी जस्तो मङ्गोल मूलको हुनु पर्छ । फ्री जातिको परम्परागत पेशा फेरी लगाएर हिँड्ने र राति शङ्ख फुकेर गाउँबस्तीका मानिसलाई सम्भावित चोरीबाट सतर्क गराउने हो । यसबाट केही आय आर्जन गर्छन् । अन्यथा यो जातिको मुख्य पेशा कृषि नै हो ।