राई

राई

प्रतिष्ठान ऐनमा सूचीकृत ६० जातिमध्ये राई एक बहुसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उत्पतिबारे फरक(फरक मत छन्, तथापि के कुरा निर्विवाद हो भने सबै राईको थातथलो पूर्वी पहाडको मध्य भाग (माझ किरात) हो, जसलाई खम्बुवान पनि भन्ने गरिएको छ । दुधकोशीदेखि अरूण नदीको प्रस्रवण क्षेत्रमा पर्ने सोलखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर र उदयपुर जिल्लाको भू-भाग राईको ऐतिहासिक थलो हो । सँगै भौगोलिक निरन्तरता रहेका वल्लो र पल्लो किराती भू-भाग—जस्तै, इलाम, संखुवासभा, धनकुटा, सुनसरीको पहाडी भू-भाग र सिन्धुलीको उत्तर-पूर्वी भाग—मा कहीँ जनसङ्ख्याको हिसाबले पहिलो र कहीँ अल्पसङ्ख्यकको रूपमा राईको बस्ती विस्तारित छ । किरात राई यायोक्खाका अनुसार यी ठाउँहरू पनि राईका थातथलो हुन् । राई नाममा मात्र (तलको अनुच्छेदमा समूह “क” मा परेकाहरू समावेश नगरी) गणना भएकाहरूको कुल जनसङ्ख्यामध्ये एक चौथाइ तराईका जोडिएका तीन वटा जिल्लाहरू (झापा, मोरङ र सुनसरी) मा बसोबासरत छन् । २०७८ को जनगणनाअनुसार राईको जनसङ्ख्या ६,४०,६७४ छ, र तलको अनुच्छेदमा समूह “क” मा उल्लिखित १२ जाति वा भाषिक समूहलाई पनि जोड्ने हो भने यो सङ्ख्या बढेर ७,५६,०८९ हुन्छ । यो भनेको देशको कुल जनसङ्ख्याको २.६ प्रतिशत हो ।


राई आफैमा बहुभाषिक जाति हो । किरात राई यायोक्खाले आदिवासी जनजाति आयोगमा थरको रूपमा रजिस्टर गराएको २६ राई भाषिक समूहलाई निम्न दुई उप-समूहमा विभाजन गर्न सकिन्छ : (क) आठपहरिया, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहोरुङ, मेवाहाङ, नाछिरिङ, साम्पाङ र याम्फू; र (ख) बेलहारे, छिलिङ, छिन्ताङ, दुमी, दुङ्माली, जेरुङ, कोयू, लुङ्खिम, मुगाली, फाङ्दुवाली, पुमा, साम, तिलुङ र वाम्बुले । यी २६ मध्ये “क” समूहमा पर्ने सबै भिन्नाभिन्नै जातिका रूपमा २०७८ को जनगणनामा राखिएका छन् । समूह “ख” भित्रकाको जातीय पहिचान बृहत्तर राई जातिमै समाहित छ, यद्यपि उनीहरूका भाषा छुट्टाछुट्टै छन् । एउटा उखान—दश राई, दश कुरा, एक चुलो— लाई बिम्ब मान्ने हो भने निश्चित रूपमा भन्न सकिन्छ कि राई जाति सापेक्ष भिन्न भाषा बोल्ने एउटै सांस्कृतिक समूह हो । सबैको नस्ल मङ्गोल हो, वंश किरात हो, धर्म किरात हो, भाषा (भारोपेली भाषाका देवास राई बाहेकको) तिब्बती-बर्मेली वा चिनियाँ-तिब्बती परिवारको हो, र मुन्दुम उनीहरूको अनुष्ठानिक मौखिक ज्ञान परम्परा हो, जसको अभिलेखीकरण गर्ने काम भइरहेको छ ।


यो जातिको पहिचानमा भाषाको कुरा गौण हुँदै गइरहेको छ । २०७८ को जनगणनामा जातिमा राई लेखेकाहरूमध्ये २२.६ प्रतिशतले मात्र आफ्नो भाषा राई भनेर लेखाएका छन् । यो तथ्याङ्कलाई किरात राई यायोक्खाले गलत भनेका छन् । लिपिको हकमा राईहरूले श्रीजङ्गा लिपि प्रयोग गर्दै आएका छन् ।


राईको परम्परागत धर्म किरात हो । उनीहरू पितृपूजक एवं प्रकृतिपूजक हुन् । उनीहरूको धार्मिक-सांस्कृतिक संस्कार मुन्दुमबाट निर्देशित छ । तर हिन्दुकरणको प्रभाव देखिन्छ । २०४८ को जनगणना अनुसार ६५ प्रतिशत राईहरूको धर्म हिन्दु हो । अरू हिन्दुले जस्तै धेरै राईहरूले दशैँ र तिहार मनाउँछन्, साथै केही समयदेखि दशैँ बहिष्कार अभियान पनि चलिरहेको छ । हाल आएर धर्मसँग जोडिएको मौलिक पहिचानमा राईहरूको सचेतना वृद्धि भएको देखिन्छ । २०७८ को जनगणना अनुसार ६८.४ प्रतिशत राईहरू किरात धर्मका अनुयायी हुन् । यो जातिका केही मानिसहरूले सरकारी कागजमा हिन्दु भनेर दर्ज गराए पनि राई जातिमा आदिवासीपन धेरै छ । पितृपूजा र कुलपूजामा आफ्नै पुरोहित (बिजुवा) लगाउँछन् । अरू प्रकृतिपूजकले जस्तै हावा, पानी, माटो, जमिन र जङ्गलको पूजा गर्छन् । उनीहरूले मान्ने देवीदेवता निराकार हुन्छन्; तसर्थ, उनीहरूको परम्परागत धार्मिक स्थलमा हिन्दुको जस्तो मन्दिर र मूर्ति हुँदैन । मुख्य चाड उँभौली र उँधौली हुन् । मरेपछि लासलाई जमिनमा गाड्ने गर्छन् ।


कुनै समय राई किपटिया जातिमा गनिन्थ्यो । उनीहरूको समुदायगत खेत र जङ्गल थियो । यसले के संकेत गर्छ भने राईको परम्परागत पेशा कृषि र कृषिसँगै जोडेर आउने पशुपालन हो । खाडी कपडा र राडीपाखी बुन्ने, बाँस र काठबाट घरेलु उपभोगका सामान बनाउने र बेच्ने, र चिराइतो उत्पादन र बिक्री गर्ने पनि राईका परम्परागत व्यवसाय हुन् । आय आर्जनको अर्को प्रमुख स्रोत सेनामा (नेपाल, भारत र बेलायत) भर्ती भएर आउने तलब र पेन्सन हो । खास गरेर किपट प्रथा उन्मूलनपछि राईको पेशामा विविधीकरण आएको छ । कसैको जीवन निर्वाहको प्रमुख स्रोत नोकरी (सरकारी र गैर-सरकारी क्षेत्रमा) हो भने धेरैको कृषि रहेको छ । अहिले वैदेशिक रोजगारीतर्फ जानेको सङ्ख्या पनि बढ्दै गएको छ ।


पेशाको विस्तारीकरण र विविधीकरणसँग जोडिएर आउने विषय बसाइँसराइ पनि हो । करिब २५ प्रतिशत राई पूर्वी तराईका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा भेटिन्छन्, र करिब १२ प्रतिशत काठमाण्डु उपत्यकामा र केही विदेश पुगेका छन् ।


राईको आफ्नै प्रथाजनित शासन छ । राई पहिलेदेखि नै जातिबोधक शब्दको रूपमा रहेको भए पनि राणा कालीन समयमा यो स्थानीय प्रशासनिक पदको रूपमा पनि प्रयोग भएको थियो । पदीय रूपमा राईको अर्को समानार्थी शब्द मझिया, जिम्दार र देवान पनि हो, जसको प्रमुख दायित्व कर संकलन गरी काठमाण्डुमा बुझाउने थियो, यद्यपि उनीहरूको अर्को काम स्थानीय झैझगडा मिलाउने पनि थियो । तर यो ऐतिहासिक विरासत अहिले स्थानीय तहमा निर्वाचित व्यक्तिहरूले केही हदसम्म बोकेको छन् । अहिले पनि सामूहिक सांस्कृतिक कार्यमा गौरुङ र जिम्वालहरूले नेतृत्वदायी भूमिका खेलेका हुन्छन् ।