वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
पूर्वी तराईमा आफ्नै थातथलोमा केन्द्रित भई धेरै अगाडिदेखि बसोबासरत राजवंशी नेपालको एक आदिवासी हो भन्ने कुरा निर्विवाद छ । २०७८ को जनगणना अनुसार राजवंशीको जनसङ्ख्या १,३२,५६४ छ । यो सङ्ख्या करिब १,७५,००० हुनु पर्ने दावा राजवंशी समाज विकास समितिले गरेको छ । तथ्याङ्क कार्यालयमा उल्लिखित राजवंशीहरूमध्ये पुग-नपुग दुई तिहाइको (६२.२५) बासस्थल झापा जिल्ला हो भने एक तिहाइको (३२.६५) मोरङ जिल्ला र बाँकी केहीको सुनसरी जिल्ला हो । यो जातिको भाषिक पहिचान प्रतिको लगाव धेरै रहेको देखिन्छ । राजवंशी भाषालाई आफ्नो मातृभाषा मान्नेको सङ्ख्या १,३०,१६३ छ; अर्थात्, यो जातिका ९८.२ प्रतिशत व्यक्तिहरूको मातृभाषा राजवंशी भाषा हो ।
राजवंशीको उत्पतिबारे फरक-फरक जनश्रुतिहरू छन् । एक थरीले हिन्दु भाष्य समाएर त्रेता युगमा परशुरामद्वारा चलाएको क्षेत्री विनासको अभियानसँग जोडेर हेर्ने गरेका छन् । सो विनासबाट बच्नको लागि आफूलाई अनार्यकरण गर्ने समुदायको रूपमा राजवंशीको चित्रण गरिएको छ । योभन्दा ठिक उल्टो अर्को मिथक अनुसार द्वापर युगमा विराट राजाका प्रधानसेनापति (क्षेत्री जातको) किचकको वंशज नै अहिलेका राजवंशी हुन् । यो सम्बन्धमा अर्को पनि जनश्रुति छ । अम्बिका प्रसाद चौधरी, आर.एम. नाथ र शिवेन्द्र नारायण कोचका अनुसार राजवंशीका पुर्खा तिब्बती हुन् जो त्यहाँबाट ब्रह्मपुत्रको किनार हुँदै वर्तमान भारतको उत्तर-पूर्वी भाग र नेपालमा आइपुगेका हुन् (राजवंशी र अरू २०८१:१२) ।
नेपालमा राजवंशीको आदिवासी अस्तित्व प्राचीनकालदेखि रहेको कुरामा विवाद छैन । आधुनिक नेपाल, अर्थात् नेपालको एकीकरण, हुनुअघि विजयपुर राज्यमा र त्योभन्दा अघि कोच अथवा राजवंशी राजाबाट शासित कोचविहार राज्यको बृहत्तर मोरङ प्रदेश (जुन पूर्वमा विस्तारित टिष्टा नदीदेखि अहिलेको बासस्थान झापा, मोरङ र सुनसरी) मा राजवंशीहरूको बसोबास थियो । आर्यहरू प्रवेश गर्नु अघि नै यिनीहरू यो भू-भागमा बसिसकेका थिए । यो पौराणिककालमा प्रागज्योतिशपुर, प्राचीनकालमा कामरूप, र मध्यकालमा कोचविहार राज्यको भू-भाग थियो । एकीकरणपछि पहिलेको कोच र विजयपुर राज्यको मोरङ क्षेत्र नेपालको राजनीतिक सिमानाभित्र पर्न गएको हो । इतिहासको विरासतले गर्दा एउटै जाति कुनै नेपाली र कुनै भारतीय हुन पुगे । नेपाल लगायत भारतसँग जोडिएको पश्चिम बङ्गाल र विहारमा राजवंशीहरू लाखौँको सङ्ख्यामा बसोबासरत छन् ।
शारीरिक बनोट हेर्दा राजवंशी मङ्गोल मूलको जस्तो देखिन्छ, तर यो जातिमा मङ्गोल र आर्यको मिश्रण पाइन्छ (महर्जन सन् २०१५ए: ५१) । यो जातिको मातृभाषा कसैले भारोपेली परिवारभित्र पर्छ भनेका छन् भने कसैले तिब्बती-बर्मेली र भारोपेलीको मिश्रण (महर्जन सन् २०१५ए: ५५) । २०४८ को जनगणना अनुसार ९९ प्रतिशत राजवंशीहरू हिन्दु हुन् । तर राजवंशी अभियन्ताहरू यो भाष्यको विनिर्माणमा लागेका छन् । यिनीहरूको तर्क के छ भने आनुवंशिक रूपमा राजवंशी हिन्दु हुनै सक्दैन किनभने यो जातिको सामाजिक संरचना, संस्कार, संस्कृति र रीतिथिति खाँटी हिन्दुहरूको भन्दा पृथक् छ । यो जातिको गोत्र हुँदैन ९राजवंशी र अरू २०८१० । वास्तवमा राजवंशी प्रकृतिपूजक हुन् । यिनीहरूका इष्टदेव ठाकुर, ब्रह्माणी र हनुमान हुन् ।
राजवंशीको मुख्य पेशा कृषि हो । कृषि उपजले मात्र जीवन धान्न गाह्रो भएकोले आय आर्जनको लागि मजदुरी पनि गरेको पाइन्छ । माछा मार्ने र शिकार खेल्ने यिनीहरूको परम्परागत पेशा हो ।
राजवंशीको आफ्नै प्रथाजनित संस्था छ, त्यसलाई पोइँच भनिन्छ । हरेक घरको मूली त्यसको सदस्य हुन्छ । गाउँबस्तीको झगडा मिलाउनेदेखि आफ्नो जाति भित्रको परम्परा, संस्कृति र संस्कारगत काममा पोइँच संलग्न हुन्छन् ।