सतार (सन्थाल)

सतार (सन्थाल)

सन्थाल प्रतिष्ठान ऐनमा सूचीकृत आदिवासी जनजातिमध्ये एक अल्पसङ्ख्यक तराई जाति हो । उनीहरूको बसोबास झापा र मोरङ जिल्लाका गाउँघरमा केन्द्रित रहेको कुरा २०७८ को जनगणनाले देखाएको छ । कुल ५७,३१० सन्थालहरूमध्ये ६१ प्रतिशत झापामा बसोबासरत छन् र ३८ प्रतिशत मोरङमा ।


सन्थाल नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलंका र माल्दिभ्समा पनि छन् । तसर्थ, यो जातिको उत्पतिबारे स्पष्टता छैन । यसबारे केही मिथक छन् । सन्थालहरू हिडिडी पिडिडीलाई आफ्नो उत्पति स्थल मान्छन्, तर यो काल्पनिक स्थान संसारमा कहीँ छैन । एक वयोवृद्ध सन्थालका अनुसार यो जातिका पुर्खा त्रेता युग कालीन राम हुन् (गुरुङ र तामाङ सन् २०१४: ९) । नेपालमा यो जातिको बसोबास झापामा केन्द्रित रहेका अरू केही जनजाति (किसान र झांगड) को जस्तै करिब २०० देखि ३०० वर्ष अघिदेखि मात्र भएको अनुमान छ । त्यति बेला भारतको विहारमा ठूलो अनिकाल परेको थियो भने नेपालमा पारिबाट कृषि श्रमिक भित्र्याउने नीतिको सुरुवात भएको थियो । नेपाल आगमनको इतिहास लामो नभए पनि नेपालको जुन ठाउँ ९पूर्वी तराईको जङ्गल० मा उनीहरूले बसोबास गरे, त्यहाँ पहिले अरू मानव समुदाय थिएन । त्यसैले, झापा र मोरङका कतिपय गाउँबस्ती जुन अहिले सन्थालको थातथलो हो, त्यहाँको पहिलो बासिन्दा यही जाति हो । त्यसैले सन्थाल नेपालको एक आदिवासी जनजाति हो ।


सन्थालको नस्ल अस्ट्रलोइड हो । उनीहरूको भाषा (सन्थाल भाषा) जातिबोधक छ । यो भाषा आष्ट्रिक परिवारभित्र पर्छ, र यसको आफ्नै लिपि (अलचिकी) छ । २०७८ को जनगणना अनुसार नेपालमा सन्थाल भाषी ५३,६७७ छन्, जुन यो जातिको कुल जनसङ्ख्याको ९३.७ प्रतिशत हो । सन्थालको धर्म हिन्दु भनेर लेखिएको छ, तर यो जाति वर्णाश्रम र जातगत वर्गीकरण नभएको आदिवासी हो । सन्थाल अभियन्ताहरूले यो जातिको धर्मलाई सरना भनेर घोषणा गरेका छन् । अहिले यो जातिको व्यापक रूपमा ईसाइकरण भइरहको छ । चारकोसे झाडीको फँडानीअघि जङ्गलमै जीवन निर्वाह गरेका सन्थालहरूको परम्परागत धर्म पक्कै पनि प्रकृति धर्म हुनु पर्छ ।


केही दशक अगाडिको इतिहास खोज्ने हो भने सन्थाल बस्ती घना जङ्गलभित्र थियो । शिकार गर्नु, माछा मार्नु, जङ्गली कन्दमूल र फलफूल संकलन गर्नु यो जातिका परम्परागत पेशा हुन् । कृषि युगमा प्रवेशसँगै खेतीपाती र पशुपालन गर्न थालेको हो । अहिले मजदुरी आय आर्जनको प्रमुख स्रोत हुन गएको छ ।


सन्थालको आफ्नै प्रथाजनित संस्था छ, जसलाई अटुमाझी भनिन्छ, र हरेक परिवारको मूली यसको सदस्य हुन्छ । यस बाहेक माझधम (मुखिया) को नेतृत्वमा छ-सदस्यीय कार्यकारणीको व्यवस्था छ । यसले सन्थालको सामाजिक, सांस्कृतिक र संस्कारगत कामको रीतिथिति बनाउँछ र गाउँघरमा हुने झैझगडा पनि हेर्छ ।