वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत ताजपुरिया नेपालको एक अल्पसङ्ख्यक तराई आदिवासी जनजाति हो । एक जनश्रुति अनुसार यो जातिको उद्भव द्वापर युगको महाभारत कालीन समयमा रहेको त्रिगत राज्यबाट भएको हो । उनीहरू आफूलाई उक्त राज्यका सुसर्मा नामको राजाको वंशज भएको दावी गर्छन् (महर्जन सन् २०१५बी: ६७) । यो जातिको पूर्वी नेपालका झापा र मोरङमा मात्र केन्द्रित अरू केही अल्पसङ्ख्यक जनजातिको इतिहास एकै खालको छ । सबै २०० देखि ३०० वर्षअघि भारतबाट नेपाल आएका हुन्—किसान विहारबाट, झांगड छोटानागपुरबाट, गनगाई पश्चिम बङ्गालबाट, सन्थाल झारखण्डबाट । आ-आफ्ना थातथलोको पहिलो बासिन्दा भएका कारण यिनीहरूलाई आदिवासी मानिएको हो ।
२०७८ को जनगणना अनुसार ताजपुरियाको जनसङ्ख्या २०,९८९ छ । तीमध्ये दुई तिहाइ झापा जिल्लामा र एक तिहाइ मोरङ जिल्लामा बस्छन् । पहिले कोच जाति भनेर चिनिने ताजपुरिया मङ्गोल र द्रविड नस्ल मिश्रण मानिने कोच समुदायको एक शाखा हो । यो जातिको मातृभाषा तिब्बती-बर्मेली परिवारमा पर्छ । २०७८ को जनगणना अनुसार ताजपुरिया भाषी २०,३४९ जना छन्, जुन यो जातिको कुल जनसङ्ख्याको ९६.५ प्रतिशत हो ।
हिन्दुकरणबाट प्रभावित भएकोले यो जातिका व्यक्तिहरूले दशैँ, तिहार आदि पर्व मान्छन्, तर यिनको सामाजिक बनोटमा जातगत श्रेणी छैन । यिनीहरूको मन्दिर (ग्राम) मा मूर्ति हुँदैन, माटोको ढिस्को मात्र हुन्छ । ताजपुरियाको परम्परागत धर्म प्रकृति धर्म हो । ठाकुर यिनीहरूका इष्टदेव हुन् । अहिले उनीहरूको संस्कारमा हिन्दु र कोचको मिश्रण भएको पाइन्छ । धार्मिक कार्यमा पहाडी बाहुन प्रयोग गर्ने गरेका छन् । साथै संस्कारगत कार्य स्वजातीय पुरोहित (गोसाई) बाट गराइन्छ । प्रमुख पेशा कृषि र सहायक पेशा पशुपालन हो । आय आर्जनको लागि मजदुरी पनि गर्छन् ।