वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत तामाङ नेपालको एक बहुसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उत्पतिबारे केही मिथक, केही जनश्रुति, र केही कथ्य इतिहास छन् । मिथक के छ भने तामाङ भगवान् शिवले सृष्टि गरेका प्राणी हुन् । किरातीले जस्तै तामाङले पनि महादेवलाई अनार्य मान्छन् र पुज्छन् । तामाङ संगठनहरूका अनुसार यो मिथक गलत छ । एक जनश्रुति अनुसार तिब्बतका शक्तिशाली बादशाह स्रोङचङ गम्पोको राज्य विस्तारको क्रममा हिमाल छिचोलेर आएका केही घोडसवार सैनिक यतै बसेका र तिनीहरूको नाम तामाङ हुन गएको हो (शर्मा २०३९: ३१४; गौतम र थापा-मगर सन् १९९४: २६३) । अर्को अप्रमाणित स्रोत अनुसार तामाङको पुर्ख्यौली थलो ग्याल्सा राज्य हो, जसको सिमाना अहिलेको तिब्बतको स्याङस्यूङ र पुराङ र नेपालको मुगु र मुस्ताङ जिल्ला हो (तामाङ २०६९: ७) ।
तर के कुरामा विवाद छैन भने तामाङ नेपालको एक प्राचीन आदिवासी जनजाति हो । मोहन गोले तामाङको दावा अनुसार दहको रूपमा रहेको काठमाण्डु उपत्यकाको पानी मञ्जुश्रीले बाहिर निकालेर यो ठाउँ बसोबासयोग्य बनाएदेखि नै यहाँ तामाङको बसोबास प्रारम्भ भएको हो । जीन परिक्षणबाट गरिएको एक अध्ययन अनुसार १६,४०० वर्षअघि यो जाति काठमाण्डुमा प्रवेश गरिसकेको थियो । तामाङ बस्ती (ताम्सालिङ) को भूगोल ठूलो छस पूर्वमा सुनकोशी, पश्चिममा बुढीगण्डकी, दक्षिणमा चितवन जिल्लाको उत्तरी भाग, र उत्तरमा तिब्बतसम्म विस्तारित छ (तामाङ २०८०: ३६) । बृहत्तर ताम्सालिङभित्र तीन क्षेत्र पर्छन् स् तेमाल, लाच्याङ र गोरस्याङ । तर यी क्षेत्रको एक अर्कोसँग जातिगत भूगोल जोडिएको छैन । तसर्थ, तामाङको थातथलो काठमाण्डु उपत्यकाको वरिपरि रहेको पहाडी भू-भाग हो । यसबारे अजितमान तामाङको भनाइ यस्तो छ, “तामाङ जातिको बाहुल्य रहेको धादिङ, रसुवा, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाम, सिन्धुली आदि जिल्लाहरू अहिलेको ताम्सालिङको मुख्य भूगोल हो” (२०६९: ४५) । यी जिल्लाहरू अहिलेको बाग्मती प्रदेशमा पर्छन् । तामाङको दावा तथ्यपरक रहेको २०७८ को जनगणनाले पनि देखाउँछ । देश भरका कुल १६,३९,८६६ तामाङहरूमध्ये तीन चौथाइको घरबार यही प्रदेशमा रहेको छ । तामाङ भाषीको सङ्ख्या १४,२३,०७५ छस अर्थात्, यो जातिका ८६.८ प्रतिशत जनताले आफ्नो पहिचान आफ्नै मातृभाषासँग जोडेर हेर्ने गरेका छन् । भाषा बाहेक धर्मको सवालमा पनि अरू जनजातिको तुलनामा तामाङ खसकरणबाट सतर्क रहेको देखिन्छ । २०४८ को जनगणनामा उल्लिखित २६ जातिमध्ये २२ जातिका बहुसङ्ख्यकले आफूलाई हिन्दु धर्मसँग जोडेको बेला पनि ८६ प्रतिशत तामाङले आफ्नो धर्म बौद्ध भनेर लेखाएका थिए । २०७८ मा गरिएको पछिल्लो जनगणना अनुसार तामाङहरूमध्ये ८४.९ प्रतिशत बौद्ध धर्मावलम्बी हुन् ।
तामाङको नस्ल मङ्गोल हो । तामाङ भाषाको आफ्नै लिपि (तामायीग) छ, शब्दकोश छ, व्याकरण छ, र प्रशस्त साहित्य पनि छ । यो भाषा तिब्बती-बर्मेली परिवार अन्तर्गत पर्छ । तामाङ भाषाका मुख्यतः दुई भेद छन् स् त्रिशूली नदीदेखि पश्चिमतिर बोलिने भेदलाई पश्चिमी तामाङ भाषा र यो नदीदेखि पूर्वतिर बोलिने भेदलाई पूर्वीय तामाङ भाषा भनिन्छ । यो जातिको धर्ममा बोन र बौद्धको मिश्रण छ । बौद्ध धर्म अनुरूप गोन्पा छ, जसको रेखदेख लामाले गर्छन् । गोन्पा धार्मिक स्थल मात्र होइन, बौद्ध धर्म सिक्ने र सिकाउने शिक्षण संस्था पनि हो । लामा शिक्षक मात्र होइनन्, पुरोहित पनि हुन्, जसले तामाङको धार्मिक र संस्कारगत परम्परालाई नियमित गर्छन् । तामाङको अर्को पनि पुरोहित (बोम्बो) हुन्छ, जसले बोन धर्म अनुरूप तामाङलाई भूतप्रेत र अरू खाले विनासबाट रोक्न धामीझाँक्री भई पूजापाठ र तन्त्रमन्त्र गर्छन् ।
तामाङको पेशा यिनीहरू बस्ने भूगोलसँग जोडिएको हुन्छ । अधिकांश तामाङको बसोबास उच्च पहाडी भेग अर्थात् लेकमा छ । त्यस भेगमा उब्जाउ हुने अन्न जौ, गहुँ, उवा र आलु हो, यसैमा तामाङको जीवन निर्वाह चलेको हुन्छ । कृषि मुख्य पेशा हो भने पशुपालन सहायक पेशा । लेकमा पाइने प्राकृतिक स्रोतको, खास गरेर बाँसको उपयोग गरेर डोको, नाम्लो बुन्ने र त्यसलाई बजारमा बेचेर अतिरिक्त आम्दानी पनि गरेको हुन्छ । साथै ऊनको धागोबाट राडी, पाखी, बख्खु आदि बनाई बजारमा बेचेर पनि कमाइ गरेको हुन्छ । गरिब तामाङहरू ज्यालादारी मजदुरको रूपमा काम गर्ने गर्छन् । अहिले यो जातिका मानिसहरू व्यापार, व्यवसाय, नोकरी र अन्य पेशामा पनि संलग्न भएको पाइन्छ ।
प्रथाजनित संस्था र परम्परामा तामाङ जाति एक उदाहरणीय समूहको रूपमा लिन सकिन्छ । कामको विभाजनको आधारमा ती संस्थामा नौ प्रकारका श्रेणीबद्ध पदाधिकारी हुन्छन् : लामा, बोम्बो, गाम्बा, ताम्बा, कटाउके, लाइबा, द्याङबास्या, छ्याबा र ब्योन ह्राबादोर्जे (तामाङ २०६९: ७६; शर्मा २०३९: ३२१) । साथै चोहो प्रणाली पनि छ, जसले समाजलाई प्रशासनिक ढङ्गबाट व्यवस्थित गर्ने र प्रथाजनित कानुनको पालना गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यस अतिरिक्त मुल्मी व्यवस्था पनि छ, जसले गाउँठाउँमा मुखियाको भूमिका निर्वाह गर्छन् । पारिवारिक र गाउँमा हुने झैझगडा मिलाउने, मालपोत उठाउनेदेखि सार्वजनिक काममा निःशुल्क श्रमको परिचालन सम्मका काममा मुल्मीले अगुवाइ गर्छन् ।