वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत वालुङ एक अति अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उद्गम स्थल तिब्बतको शिगात्से नजिक तानक गाउँ हो (गान्देन २०७८: २९) । नेपालमा उनीहरूको थातथलो ताप्लेजुङ जिल्लाको तमोर नदीको सिरानमा पर्ने ओलाङचुङगोला हो । ओलाङचुङगोला लगायत याङ्मा, धुन्सा, लुङथुङ र लेलेप गरी पाँच स्थानका बासिन्दालाई वालुङ भन्ने गरिन्छ । ओलाङचुङगोला नेपाल र तिब्बत बीचको एक प्रमुख व्यापार केन्द्र हो ।
२०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या ४८१ मात्र छ । यथार्थमा, योभन्दा बढी हुनुपर्छ, किनभने धेरै वालुङ जातिले सरकारी कागजमा भोटे वा लामा वा शेर्पा थर लेख्ने गरेका छन् । सम्भवतः कतिपय वालुङहरूको गणना अरू थर वा जातिमा मिसिएको हुन सक्छ । अर्को कारणमा यो जातिका धेरै मानिसहरू बसाइ सरेर गएका छन् । जनगणनामा उल्लेख भएकामध्ये अहिले आधाभन्दा कम मात्र उनीहरूको थातथलोमा रहेका छन् । पुग-नपुग आधा वालुङहरू काठमाण्डुमा बसाइ सरेर गएका छन् । वालुङ मातृभाषीको सङ्ख्या ५४५ छ, जुन यो जातिको जनसङ्ख्याभन्दा बढी छ । सम्भवतः छिमेकी जाति (जस्तै, थुदाम) मध्ये कतिपयले वालुङ भाषा अपनाएका छन् ।
वालुङ मङ्गोल नस्ल र तिब्बती वंशको जाति हो । उनीहरूको भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । यो जातिको प्राचीन धर्म बोन हो, जुन प्राकृतिक धर्म र झाँक्रीपन्थसँग अन्योन्याश्रित रूपमा मिलेको हुन्छ । कालान्तरमा यिनीहरू अरू हिमाली जाति जस्तै बौद्धमार्गी भएका हुन् । यो जातिको जन्मदेखि मृत्यु सम्मका संस्कारमा बौद्ध धर्म, बोनपन र झाँक्रीपन्थको सम्मिश्रण पाइन्छ । हरेक वालुङ बस्तीमा साना-ठूला गुम्बा हुन्छन्, जसको प्रमुख व्यक्ति लामा हुन्, जसले एकसाथ चार भूमिका निर्वाह गर्ने गरेका हुन्छन् : पुजारी, पुरोहित, शिक्षक र आम्ची ।
वालुङका परम्परागत मुख्य पेशा पशुपालन (त्यसमा पनि चौँरीपालन), र सीमापार व्यापार हुन्; कृषि त्यसपछि मात्र आउँछ ।