वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत याक्खा नेपालको एक आदिवासी जनजाति हो । नस्लमा मङ्गोल, वंशजमा किराती, र २०४८ अगाडिसम्म राईमा गणना हुने यो जातिको थातथलो पूर्वी पहाडको संखुवासभा जिल्लाको दक्षिणी भेग र धनकुटा जिल्लाको उत्तरी क्षेत्र हो । रामजी कोङरेनका अनुसार याक्खा जातिको उद्गमस्थल याक्खालेन हो जुन पल्लो किरातको दश लिम्बुवानको सत्रथुममध्ये तीन थुम मानिने दशमझिया, पाँचमझिया र पाँचखपन हो (२०६८: ८) । याक्खालेन वरपर राई, शेर्पा, भोटे, लिम्बुको बसोबास छ ।
याक्खा एक अल्पसङ्ख्यक जनजाति हो जसको जनसङ्ख्या २०७८ को जनगणना अनुसार १७,४६० छ । २०६८ को जनगणनामा यो सङ्ख्या २४,३३६ थियो । एक दशकमा लगभग ७,००० (२८ प्रतिशत) जनसङ्ख्या घट्नु पर्ने त्यस्तो केही घटना घटेको छैन; तसर्थ, पछिल्लो जनगणनामा त्रुटि छ । २०७८ मा उल्लिखित याक्खाहरूमध्ये ८१.६ प्रतिशतले आफ्नो पहिचान आफ्नो मातृभाषासँग जोडका छन् । याक्खा भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ ।
याक्खाको धर्मग्रन्थ मुन्दुम हो, र उनीहरू किराती धर्मावलम्बी हुन् र प्रकृति धर्मसँग नजिक छन् । हिन्दुकरणको प्रभाव याक्खा जातिमा पनि देखिन्छ । उनीहरू पनि दशैँ र तिहार मनाउँछन्, साथै खाँटी हिन्दुभन्दा आफू भिन्न हो भनेर पनि देखाउँछन् । पर्वतेहरू रातो अछेताको टीका लाउँछन् भने याक्खाहरू अरू पहाडी जाति जस्तै सेतो अछेताको टीका लगाउँछन् । याक्खाको हिन्दुत्व आयातित र यान्त्रिक हो । उनीहरू प्रकृतिपूजा गर्छन् । हाल आएर धर्मसँग जोडिएको मौलिक पहिचानमा याक्खाहरूको सचेतना वृद्धि भएको देखिन्छ । २०७८ को जनगणना अनुसार ७८.५ प्रतिशत याक्खाहरू किरात धर्मका अनुयायी हुन् । परम्परागत धर्म, पेशा र संस्कृति एक आपसमा जोडिएका छन् । बाली लगाउने बेला मनाउने उँभौली र बाली भित्र्याउने बेला मनाउने उँधौली अरू केही जनजातिहरूको जस्तै याक्खाको पनि प्रमुख धार्मिक-सांस्कृतिक चाड हो ।
याक्खाको प्रमुख पेशा कृषि हो । सिंचित खेतमा धान, तोरी, गहुँ र अलैँची खेती गर्छन् भने यसको सुविधा नभएको बारीमा मकै, कोदो, फापर, गहत, मास आदि छर्छन् । कृषिसँग जोडिएर आउने व्यवसाय पशुपालन हो । याक्खालेनमा पाउने प्रमुख पशुपक्षी गाई, भैँसी, सुङ्गुर, खसी, बोका, बाख्रा, हाँस र कुखुरा हुन् । बाँसबाट बन्ने घरेलु सामान (जस्तै, डोको, डालो, दाम्लो, नाम्लो, भकारी) को उत्पादन र बिक्री गर्नु अरू पहाडी जातिको जस्तै याक्खाको पनि परम्परागत पेशा हो । सेनामा (नेपाल, भारत र बेलायतमा) रोजगारी केही अरू पहाडीको जस्तै याक्खाको पनि आय आर्जनको प्रमुख स्रोत हो ।
पेशाको विस्तारले बसाइँसराइ निम्त्याउँछ । २०७८ को जनगणना अनुसार पुग-नपुग आधा याक्खाहरू आफ्नो पुर्ख्यौली थलोभन्दा बाहिर बस्छन् । एक चौथाइ जति छिमेकी जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा बस्छन् ।
याक्खाको राज्यसँग जोडिएको स्थानीय स्वशासनको इतिहास धेरै पुरानो छैन । एकीकरण पछिका शाह र राणा शासकले आफू अनुकूलका जो व्यक्तिहरूलाई पद सहित जिम्मेवारी दिएका थिए, उनीहरू नै विभिन्न पदधारी स्थानीय मुखिया भए । अर्थात्, मझिया वा जिम्दार वा देवान बने, जसको प्रमुख दायित्व कर संकलन गरी काठमाण्डुमा बुझाउनु थियो । यद्यपि उनीहरूको अरू काम स्थानीय झैझगडा मिलाउने पनि थियो । यो ऐतिहासिक विरासत अहिले स्थानीय तहमा निर्वाचित व्यक्तिहरूले केही हदसम्म अपनाएका छन् ।