झांगड

झांगड (उराँव)

प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये झांगड एक अल्पसङ्ख्यक तराई जाति हो । यो जातिको उत्पति र नेपाल आगमनको समयबारे भिन्नाभिन्नै कथ्य इतिहास छ । एक थरीले २५०० वर्षभन्दा अघि सिन्धु घाटीमा आर्यहरूको आगमन र द्रविडियनहरूको पलायनसँग जोडेका छन् । अर्को थरीले चौधौं शताब्दीमा भारतमा मुगलको आक्रमणपछि सुरक्षित स्थानको खोजीमा हिँडेका पराजित समूहसँग जोडेका छन् । तेस्रो थरीले भारतको छोटानागपुरबाट कामदारको रूपमा नेपाल पसेको भनेका छन् (उराँव २०७९: २३) । यो भनाइ नेपालको एकीकरणपछिका शाह र राणा शासकहरूको तराईमा रहेका जङ्गल फँडानी गरी कृषि क्षेत्र विस्तारको लागि पारिबाट श्रमिक ल्याउने नीति, योजना र कार्यक्रमसँग मेल खान्छ । यो कुरा अरू केही तराई जातिहरू (जस्तै, किसान र सन्थाल) को नेपाल प्रवेश भएको कालसँग पनि मिल्न आउँछ । चारकोसे झाडी फाँडिनु अघिको पूर्वी तराईका जङ्गलहरूमा बस्ने पहिलो बासिन्दाहरूमध्ये झांगड पनि एक हो । २०७८ को जनगणनाले पनि यो कुरा पुष्टि गर्छ, जस अनुसार कुल ४६,८४० झांगडहरूमध्ये आधाभन्दा बढीको बसोबास सुनसरी जिल्लामा छ । त्यसपछि उनीहरूको बासस्थल जनघनत्व अनुसार यसरी छ स् मोरङ (१६५), पर्सा (७५), झापा (५५), कपिलवस्तु (४५), सिराहा (४५), बारा (२५) धनुषा (२५) र रूपन्देही (१५) । यी जिल्लाहरूको जङ्गल र नदी किनारमा झांगडका घना बस्तीहरू छन् । झांगडको मातृभाषा उराँव (वा कुरुखमुण्डरी) हो, र यो भाषा बोल्नेको सङ्ख्या २०७८ को जनगणना अनुसार ३८,८७३ छ, जुन झांगडको कुल जनसङ्ख्याको ८२.९ प्रतिशत हो ।


झांगड द्रविड मूलका अनार्य हुन् । यो जातिको धर्म शरणा हो, जसको अर्थ सनातन धर्म हो । झांगडको सन्दर्भमा यो भनेको प्रकृतिपूजा हो । यिनीहरू प्रकृतिजन्य वस्तुहरू (जस्तै, हावा, पानी, माटो, नदी, बोटबिरुवा, रुख, जङ्गल) को पूजा गर्छन्स साथै पितृपूजा पनि गर्छन् । यी धार्मिक कार्यको लागि झांगडले स्वजातीय पुरोहित (धामी) प्रयोग गर्छन् ।


पहिले जङ्गलभित्र र अहिले जङ्गलको छेउ र नदी किनारामा बस्ने भएकोले झांगडका परम्परागत पेशा शिकार खेल्नु, माछा मार्नु, कन्दमूल र जडीबुटी संकलन गर्नु रहेका छन् । कृषि युगमा प्रवेशसँगै पेशामा नयाँ आयाम थपिएको छ । यो जातिको अहिलेको प्रमुख पेशा कृषि र पशुपालन हो । आय आर्जनको लागि मजदुरी पनि गर्छन् ।